काठमाडौं। हेटौंडाबाट शनिबार विहान चेकजाँचका क्रममा बरामद भएको ८ किलो सुन शरीरका विभिन्न भागमा टेप टाँसेर कसिलो बनाएर काठमाडौं ल्याउन लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
दुई जना भारतीय नागरिकले जनकपुरबाट हेटौंडा हुँदै काठमाडौं ल्याउन लागेको आठ किलो भन्दा बढी सुन प्रहरीले हेटौंडामा शनिबार विहान ३ बजे चेकजाँचका क्रममा बरामद गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार प्रहरीले चेकजाँचका क्रममा हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट सो परिमाणको सुन बरामद गरेको हो।
प्रहरीले उनीहरुलाई शंका लागेपछि स्कुटर रोकी चेकजाँच गर्दा शरीरका विभिन्न भागमा बाँधेर र टेपले टाँसेर लुकाएर ल्याएको अवस्थामा सुन फेला पारेको थियो। सो सुन बिस्कुटको आकारमा ल्याइएको अवस्थामा प्रहरीले उनीहरुलाई भेटेको थियो।
‘हेटौंडा १५ रातोमाटे चौकीमा जेकजाँचका क्रममा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरिएको हो, सुनसँगै दुई जना भारतीय नागरिक पक्राउ परेका छन्, सुन काठमाडौं लैजान लागिएको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ मकवानपुरका प्रहरी उपरीक्षक खड्काले भने।
प्रहरीले सुनसहित भारतीय नागरिकहरु २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाललाई पक्राउ गरिएको जनाएको छ।
सो सुनको बजार मुल्य ११ करोड ४३ लाख भन्दा बढी पर्छ। प्रहरीका अनुसार उनीहरुले पुर्व पश्चिम सडक खण्ड पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई शनिबार विहान ३ बजे रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले जनकपुरबाट सुन लिएर पथलैयासम्म बस आएको खुलेको छ। पथलैयाबाट भने उनीहरू स्कुटरमा हेटौंडातर्फ आउँदै गरेको र सो सुन काठमाडौंको गौशालामा पुर्याएर बुझाउने तयारी रहेको पाइएको छ।



