काठमाडौँ। चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्मको कुल ११७ दिनको अवधिमा विपद्का घटनामा परेर २०५ जनाले ज्यान गुमाएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा देशभर कुल ४ हजार ४ सय ८ वटा विपद्का घटना भएका छन्। घटनामा परेर ५ जना अझै बेपत्ता छन् भने १ हजार ३ सय २४ जना घाइते भएका छन्।
प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख यता सबैभन्दा बढी मानवीय क्षति सर्पदंशका कारण भएको छ। सर्पदंशका ८ सय १ घटनाबाट ५९ जनाको मृत्यु भएको छ भने ७ सय ४९ जना घाइते भएको तथ्यांक छ।
प्राधिकरणका अनुसार चट्याङका कारण २३५ घटनामा परेर २५ जना, लेक लाग्ने ५७ घटनामा २३ जना, आगलागीका १ हजार ६० घटनामा परेर २० जना र पहिरोका ८१५ घटनामा परेर २० जनाको मृत्यु भएको छ।
मुलुकभर घटेका विपद्जन्य घटनाबाट कुल ५ हजार ४ सय ५७ परिवार प्रभावित भएका छन्। जसमा हावाहुरीका ४८० घटनामा १ हजार ३ सय ५८ परिवार र आगलागीका घटनामा १ हजार १ सय ७० परिवार प्रभावित भएका छन्।



