काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमणको घटनाको छानबनि गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
पलाँता अस्पतालमा शुक्रबार दिउँसो डाक्टर, नर्समाथि कुटपिट र राति फेरि आक्रमण भएपछि उनले घटनाको छानबनि गरेर दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।
‘अस्पतालभित्रै पसेर आक्रमण भएको घटनाको तत्काल सम्पूर्ण छानबिन गरी कानुनबमोजिम कारबाही गरियोस्,’ पौडेलले फेसबुकमार्फत भनेका छन्, ‘नागरिकको ज्यान बचाउनेहरूको आफ्नै ज्यान जोखिममा पर्दा सरकारले शान्ति सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाओस्।’
ज्यान हत्केलामा राखेर दूरदराजमा नागरिक सेवामा खटिएका चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुनु अत्यन्तै दुखद र चिन्ताजनक भएको उनको भनाइ छ।
‘एकातिर दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउनै मुस्किल छ, अर्कोतिर ज्यान हत्केलामा राखेर दूरदराजमा नागरिक सेवामा खटिएका चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुनु अत्यन्तै दुखद र चिन्ताजनक छ,’ पूर्वस्वास्थ्यमन्त्री पौडेलले भनेका छन्।
सो अस्पतालसँगै घर रहेका आक्रमणकारीले अस्पतालको ओपीडीमा आएर भिडियो गेम खेल्न वाइफाई चलाउने गरेको र अस्पतालको सेवा अवरोध हुने गरेका कारण बाहिर जान आग्रह गर्दा उनीहरूले चिकित्सक तथा नर्समाथि शुक्रबार दिउँसो आक्रमण गरेका थिए। उनीहरू मध्येकै आक्रमणकारीले शुक्रबार राति पुन: अस्पतालमा गएर चिकित्सक माथि आक्रमण गर्दै अस्पतालमा तोडफोड गरेको प्रहरीले जनाएको छ।



