कालिकोट। कालिकोटको पलाँता गाउँपालिका वडा नं. ९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि कुटपिटमा संलग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार सो अस्पतालका मेडिकल अफिसर डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि अस्पतालभित्रै हातपात भएको थियो
भने अस्पतालमा तोडफोड गरिएको थियो।
प्रहरीले सो घटनामा संलग्न तीनजना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनामा कुटिएका डा. राईनले स्थानीय मैना बम, उनका १४ र १५ वर्षका दुई छोरा तथा अन्य केही स्थानीयले आफूहरूमाथि आक्रमण गरेको बताएका छन्।
अस्पतालसँगै घर रहेका आक्रमणकारीले अस्पतालको ओपीडीमा आएर भिडियो गेम खेल्न वाइफाई चलाउने गरेको र अस्पतालको सेवा अवरोध हुने गरेका कारण बाहिर जान आग्रह गर्दा उनीहरूले आफुहरुमाथि आक्रमण गरेको डा. राईनले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सुरेश खत्रीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अघि बढाइएको जानकारी दिए।



