काठमाडौँ। आज शनिबार र आइतबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै शनिबार र आइतबार रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने जनाएहो।
सूचना अनुसार रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडर तथा स्थानहरूमा भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतको काम गर्नुपर्ने भएकाले आपूर्ति बन्द हुने छ।
शनिबार भीमसेनस्थान फिडरअन्तर्गतका टेकु, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ वडा कार्यालय, १२ वर्षे इनार, पलान्चोक भगवती तथा आसपासका क्षेत्रहरूमा बिहान ८ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द हुने सूचनामा भनिएको छ।
यसैगरी, आज डिल्लीबजार फिडरअन्तर्गतका कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा बिहान १२ देखि दिउँसो ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ।
यस्तै, साउन २४ गते आइतबार लाजिम्पाट फिडरअन्तर्गतका लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्याडिसन होटेल, लाजिम्पाट मेन रोड तथा आसपासका क्षेत्रहरूमा बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।



