काठमाडौँ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङकी उक्याव (काठमाडौं) नियुक्त गरेको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्यावलाई नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यसैगरी बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्ग बहादुर के. सी. (पर्वत) र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर)लाई नियुक्त गरेको छ।
बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यू हुने र घाइतेहहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको छ।
यसैगरी बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
यस्तै पशु वधशाला र मासु जाँच ऐन, २०५५ चरणवद्ध रूपमा नेपाल राज्यभर लागु गर्ने र बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको पोखरेलले जानकारी दिएका हुन्।



