काठमाडौं। सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय गर्दै आलमलाई परिषद्को अध्यक्षमा नियुक्त गरेकी हुन्।
नवनियुक्त अध्यक्ष आलमले आज विहानै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग पद तथा गोपनीयताको शपथ लिएका छन्।
परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो।
शपथपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइन्।
परिषद्को अध्यक्ष पदका लागि आलम सहित धर्मप्रसाद खनाल, प्रदीप लम्साल, बाबुराम हुमागाईँ, बिजय यादव, राजकुमार थापा र लिला जोशी गुरुवाचार्य अन्तर्वार्तामा सहभागी थिए।



