काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य सन्दिप राना मगरसहितको एक प्रतिनिधि मण्डलले दिल्ली प्रदेश सरकारकी मुख्यमन्त्रीसँग भेटवार्ता गरेको छ।
भारत भ्रमणमा रहेको प्रतिनिधि मण्डलको टोलीले सोमबार दिल्ली प्रदेश सरकारकी मुख्यमन्त्री रेखा गुप्तासँग उनकै कार्यकक्षमा पुगी भेटवार्ता गरेको हो।
प्रतिनिधि मण्डलमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश सभा सदस्य तथा कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरिसहितको टोली सहभागी छन्।

भेटका क्रममा नेपाल भारत सम्बन्ध, दुबै देशको विकासमा युवाको सहकार्य, नेपाल र भारतबिच सांस्कृतिक सहकार्य लगायतका विषयमा गहन छलफल भएको भेटमा सहभागी कांग्रेस युवा नेता सुशान्त आचार्यले जानकारी दिए।
सो अवसरमा मुख्यमन्त्री गुप्ताले नेपाल भ्रमण गरी पशुपतिनाथको दर्शन गर्ने इच्छा रहेको जानकारी गराएको आचार्यले बताए।
सो प्रतिनिधि मण्डलमा सुनिता कुँवर र जीवन तिवारी पनि सहभागी छन्। उनीहरू विगत केही दिनदेखि भारत भ्रमणमा छन्।



