काठमाडौँ। मोरक्कोका महामहिम राजा मोहम्मद छैटौँको राजगद्दी आरोहणको २७औँ वार्षिकोत्सवका अवसरमा नेपालमा विशेष समारोहको आयोजना गरिएको छ।
नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले आइतबार झण्डोत्तोलनसहितका विशेष कार्यक्रम आयोजना गरेको हो।
समारोहमा प्रमुख अतिथि नेपालका लागि मोरक्को अधिराज्यका महामहिम राजदूत मोहम्मद मलिकी र नेपालका लागि मोरक्को अधिराज्यका महावाणिज्यदूत मेघा चौधरीले राष्ट्रिय झण्डा फहराउँदै कार्यक्रमको शुभारम्भ गरे। कार्यक्रममा मोरक्को अधिराज्य र नेपालको राष्ट्रिय गानसमेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै महावाणिज्यदूत मेघा चौधरीले राजा मोहम्मद छैटौँप्रति हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु तथा मोरक्को अधिराज्यमा निरन्तर शान्ति, समृद्धि र उन्नतिको कामना गरिन। उनले नेपाल र मोरक्कोबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदान–प्रदानका माध्यमबाट अझ सुदृढ हुँदै जाने विश्वाससमेत व्यक्त गरिन।
मोरक्कोले हरेक वर्ष जुलाई ३० लाई वर्तमान राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गरेको दिनको सम्झनामा राष्ट्रिय दिवसको रुपमा राष्ट्रिय महत्वका साथ मनाउने गर्दछ। यो दिवसलाई मोरक्कोको राष्ट्रिय एकता, स्थायित्व र विकासप्रतिको प्रतिबद्धताको प्रतीक मानिन्छ।
सो अवसरमा नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयद्धारा विशेष प्रदर्शनी तथा विशेष समारोह पनि आयोजना गरिएको छ।
मोरक्कोको समृद्ध सांस्कृतिक सम्पदा, इतिहास तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ललितपुरको द प्लाजामा प्रदर्शनीसमेत आयोजना गरियो।
प्रदर्शनीमा मोरक्कन परिकार, परम्परागत माटोका सामग्री (पोटरी), मोरक्कन शैलीको सजावट, पर्यटनसम्बन्धी जानकारी तथा ट्राभल डेस्क राखिएको थियो।
मोरक्कोको संस्कृति, कला र पर्यटनलाई नेपालीमाझ परिचित गराउन र दुई देशबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई सुदृढ बनाउन कार्यक्रमको आयोजना गरिएको नेपालका लागि मोरक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूत मेघा चौधरीले जानकारी दिइन्।
‘यो प्रदर्शनी मोरक्कोको कला, संस्कृति र पर्यटनलाई नेपालीमाझ परिचित गराउने थलो मात्र नभएर नेपाल र मोरक्कोबीचको द्विपक्षीय सम्बन्ध, सहकार्य, व्यापार तथा पर्यटकीय आदानप्रदानलाई थप मजबुत बनाउनेछ भन्ने विश्वास लिएको छु,’ महावाणिज्यदूत चौधरीले भनिन्।

यसैगरी, आइतबार साँझ मोरक्को र नेपालको पर्यटन तथा संस्कृतिका विषयमा विशेष संवाद कार्यक्रम तथा विशेष समारोहको पनि आयोजना गरिएको छ। सो अवसरमा मोरक्को कला, संस्कृति झल्किने विशेष डकुमेन्ट्री प्रस्तुत गरिनेछ।
बीएलसी ग्लोबल होल्डिङ्गस् प्रालिकी सह–अध्यक्ष समेत रहेकी चौधरी गत फागुनमा नेपालका लागि मोरक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी थिइन्। महावाणिज्यदूतमा नियुक्त भएसँगै उनले दुईदेशबीचको कुटनीतिक सम्बन्ध, संस्कृति, पर्यटन तथा व्यापार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन्।
महावाणिज्यदूत चौधरीकै पहलमा नेपाल र मोरक्को अधिराज्यबीचको आवगमनलाई सहज बनाउन भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ।
नेपालीहरुले नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यलयबाट सिफारिस पत्रलाई भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबल मार्फत भिसाका लागि आवेदन दिन र भिसा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
यो व्यवस्थाले भिसा प्रक्रियाका लागि नेपालीहरु भारतमा जानु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।



