मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय भेला पक्षधरले समितिमा आफ्नो नाम राखेको भन्दै चम्लागाईको आपत्ति

राष्ट्रिय भेला पक्षधरले समितिमा आफ्नो नाम राखेको भन्दै चम्लागाईको आपत्ति

images
२०८३ श्रावण १७ गते, आइतवार
२०८३ श्रावण १७ गते, आइतवार
  • काठमाडौँ। नेपाली कांग्रेसबाट चोइटिएर जान खोजेकाहरूले साउन २९ गते गर्ने भनिएको राष्ट्रिय भेलाको समितिमा आफ्नो नाम राखेको भन्दै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईले आपत्ति जनाएका छन्।

    images

    आइतबार अपील सार्वजनिक गर्दै अध्यक्ष चम्लागाईले कथित राष्ट्रिय भेलाको मूल आयोजक समितिमा नाम राखिएकोप्रति गम्भीर आपत्ति जनाउँदै `वैधानिक नेतृत्वको पक्षमा उभिन आह्वान' गरेका हुन्। 

    images

    उनले अपीलमा लेखेका छन्, `नेपाली कांग्रेसको इतिहास त्याग, बलिदान र लोकतान्त्रिक विधिको निरन्तर अभ्याससँग जोडिएको छ। तर, पछिल्लो समय केही अग्रज तथा अवकाशप्राप्त नेताहरूको अगुवाइमा विधि, विधान र संगठनात्मक मर्यादाविपरीत भइरहेका  गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यही साउन २९ गतेदेखि आयोजना गर्न लागिएको भनिएको कथित "राष्ट्रिय भेला" को ५५१ सदस्यीय मूल आयोजक समितिमा 'राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ'को अध्यक्षको हैसियतमा बिना सहमति मेरो नाम राखिएकोमा म घोर आपत्ति र खेद प्रकट गर्दछु। पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने यस्ता विभाजनकारी गतिविधिमा मेरो कुनै संलग्नता नरहेको र नरहने प्रष्ट पार्न चाहन्छु।'

    उनले कुनै पनि राजनीतिक दलभित्र असन्तुष्टिहरू स्वभाविक भए पनि त्यसको निरुपण विधान र विधिको दायराभित्रै रहेर हुनुपर्नेमा जोड दिएका छन्। 

    अध्यक्ष चम्लागाईले अगाडि भनेका छन्–'नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत पूर्ण वैधानिकता प्राप्त गरिसकेको सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिको विकल्प यस्तो खालको अवैधानिक भेला हुन सक्दैन। बदलिएको परिस्थिति र नेतृत्वको पुस्तान्तरणलाई स्वीकार गर्न नसकी व्यक्तिगत स्वार्थमा केन्द्रित भएर नयाँ पार्टी खोल्ने वा विभाजनको धम्की दिनु कुण्ठा र निराशाको अराजनीतिक प्रकटीकरणमात्र हो।'

    विगतमा पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दा सिंगो देश र लोकतन्त्रले चुकाउनुपरेको मूल्यको साक्षी स्वयम् अग्रज नेताहरू नै भएको दृष्टान्त देखाउँदै उनले महामानव बीपी कोइरालाको 'व्यक्तिगत मतभन्दा संस्थागत सर्वोच्चता सधैँ माथि हुन्छ' भन्ने सिद्धान्तलाई भुलेर विधानको धज्जी उडाउनु उनको आदर्शप्रतिको उपहास भएको दाबीसमेत गरेका छन्। 

    अध्यक्ष चम्लागाईले अग्रज नेताहरूलाई नेतृत्वको परीक्षण गर्ने वैधानिक थलो १५औँ महाधिवेशन भएकाले समानान्तर अभ्यास र भ्रमको खेती छाडेर आन्तरिक लोकतन्त्रको खुला प्रतिस्पर्धामा आउन विनम्रतापूर्वक आग्रह गरेका छन्। 

    उनले कांग्रेस लाखौँ कार्यकर्ताको पसिना र जनताको भरोसाबाट बनेको छहारी भएकाले 'राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ'मा आबद्ध सम्पूर्ण एवं देशभरका न्यायप्रेमी कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको वैधानिक नेतृत्वको पक्षमा दृढतापूर्वक उभिन र पार्टीलाई क्षति पुर्‍याउने यस्ता अवाञ्छित भेला र गतिविधिहरूमा सहभागी नहुन अपील गरेका छन्।

    अन्त्यमा अध्यक्ष चम्लागाईले पार्टीभित्रका असहमतिहरूलाई संवाद, सहकार्य र विधानसम्मत प्रतिस्पर्धाबाटै हल गर्दै समय सापेक्ष 'बदलिएको र बलियो कांग्रेस' निर्माणमा जुट्न  सम्बद्ध सबैमा आह्वान गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend