चितवन। नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाले भरतपुरको वी.पि.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तसञ्चार युनिटको शुभारम्भ गरेको छ।
अस्पतालको अन्तरंग भवनको पहिलो तलामा रक्तसञ्चार युनिटको नयाँ कक्ष निर्माण कार्य सम्पन्न भएसँगै शनिबारबाट सेवा शुभारम्भ गरिएको हो।भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले रक्तसञ्चार केन्द्र क्यान्सर अस्पताल युनिटको शुभारम्भ गरेका हुन्।
सेवा शुभारम्भ भएसँगै क्यान्सर अस्पतालमा उपचाररत बिरामीका लागि सहज हुने अपेक्षा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाका सभापति राजु बहादुर खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा सभापति हरिप्रसाद पौडेल, भरतपुर महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले, क्यान्सर अस्पतालका पूर्व कार्यकारी निर्देशक शिवजी पौडेल सहभागी थिए।
यसैगरी जिल्ला शाखाका पदाधिकारी एवं सदस्यहरू, ब्लड डोनर सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अन्जन दवाडी, मानवताका लागि रक्त अभियानका अभियान्ता इ.राजेन्द्र पौडेल, दुर्लभ रक्तसमुदाय चितवनका अध्यक्ष राजमणी नेपाल, नेरेसो उपशाखा कृष्णपुरका पदाधिकारी एवं कार्यसमिति, सल्लाहाकारहरु, छिमेकी उपशाखाका सभापति एवं प्रतिनिधिहरू, रक्तदाताहरू र रेडक्रसका कर्मचारीहरूको उपस्थिति रहेको थियो।



