काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बसिरहेको छ। सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न भन्दै लामिछानेले सर्वदलीय बैठक डाकेका हुन्।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल `प्रचण्ड´, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन,जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत सहभागी छन्।
छलफलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि आमन्त्रण गरिएको छ।
सभापति लामिछानेले सम्बन्धित दलका नेताहरूलाई पत्राचार गर्नुका साथै व्यक्तिगत रूपमा फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
सुनसरीको अत्यन्त संवेदनशील र दुःखद घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र द्वेष न्यूनीकरणका लागि प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल आवश्यक ठानेर सर्वदलीय छलफल आयोजना गरिएको उनको भनाइ छ।




