काठमाडौँ। नेपाल चिकित्सक संघले मंगलबार (आज) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ।
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार संघका केन्द्रीय सदस्य लगायतमाथि भएको दुर्व्यवहारको विरोधमा संघले आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको हो।
संघले सोमबार प्रेस विज्ञप्तिमार्फत सो घटनाको विरोधमा मंगलबार देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने उल्लेख गरेको थियो।
गत साउन ९ गते नारायणी अस्पतालमा उपचाररत एक बिरामीको मृत्युु भएपछि अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण भएको थियो भने अस्पतालमा तोडफोडसमेत गरिएको थियो।
घटनामा घाइते भएका चिकित्सक रामलाई घाँटी र टाउकोमा गम्भीर चोट छ। उनलाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर ल्याइएको छ।
सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेका बेला सोमबार संघका केन्द्रीय नेतृत्वमाथिसमेत दुर्व्यवहार भएको थियो।
पर्साका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा पर्साका प्रहरी प्रमुखद्वारा बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज तथा दुर्व्यवहार गरिएको भन्दै संघले आपत्ति जनाएको थियो।
संघले डा. प्रमोद राम र अन्य स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गर्ने दोषीहरूलाई अविलम्ब पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाहीको माग गरेको छ।
यस्तै वार्ताको क्रममा चिकित्सकहरूको मानमर्दन र दुर्व्यवहार गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत तत्काल कारबाही गर्न संघले सरकारसँग माग गरेको छ।
संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सांकेतिक रूपमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको र आन्दोलनका थप कार्यक्रमहरू सर्वपक्षीय भेलाबाट तय गर्ने गरिने उल्लेख छ। आन्दोलनबाट बिरामीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै संघले यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार स्वयंले लिनुपर्ने स्पष्ट पारेको छ।



