मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वीरगन्जमा कुटपिटबाट घाइते भएका डाक्टरलाई काठमाडौँ  ल्याइयो : ट्रमा सेन्टरमा भेट्न पुगिन मन्त्री

वीरगन्जमा कुटपिटबाट घाइते भएका डाक्टरलाई काठमाडौँ  ल्याइयो : ट्रमा सेन्टरमा भेट्न पुगिन मन्त्री

images
२०८३ श्रावण ११ गते, सोमवार
२०८३ श्रावण ११ गते, सोमवार
  • काठमाडौं। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा.प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ।

    images

    डा. रामलाई सोमबार दिउसो ट्रमा सेन्टर ल्याएर उपचार सुरु गरिएको हो। उनलाई काठमाडौँ ल्याए लगत्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता अवस्था बुझ्न अस्पताल पुगेकी छिन्।

    images

    सो क्रममा मन्त्री मेहताले उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएकी छिन्।

    मन्त्रालयका अनुसार डा.रामलाई विशेषज्ञ उपचार उपलब्ध गराउन आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ। मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।

    यसैबीच, मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    मन्त्रालयले उपचारका क्रममा हुने कुनै पनि अप्रिय घटनाको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था विद्यमान रहेकाले कानून हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ।

    मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही अघि बढाउन आग्रह गरेको छ। साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न अनुरोध गर्दै अस्पतालमा सुरक्षित र निर्भय वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ।

    मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी रहेको बताइन्। यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक कदम प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend