काठमाडौँ। चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै साउन ७ गतेदेखि २४औं सत्याग्रहमा बसेका डा गोविन्द केसीको मागका सन्दर्भमा निर्णायक भनिएको आजको वार्ता जारी छ।
आइतबार ११ घण्टासम्म चलेको पहिलो चरणको वार्तामा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधि बिचमा मुख्य दुई विषयमा सहमति जुट्न सकेको थिएन।
वार्तामा सहभागी एक सदस्यका अनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा.भीमबहादुर चन्दलाई जिम्मेवारी मुक्त गर्न सरकार तयार भएको छ। तर उपकुलपति डा.सुनिलप्रसाद जोशीलाई हटाउने विषयमा भने सरकारी पक्ष अलमलमा छ। यो विषय नटुंगिदा आइतबार ११ घण्टा सम्म भएको वार्ता सोमबार बस्ने गरि सकिएको थियो।
डा. केसीका तर्फबाट वार्तामा सहभागी अमृत जैशीले विश्वविद्यालयका पदाधिकारीको व्यवस्थापनमा सहमति बन्न बाँकी रहेको जानकारी दिए। यसैगरी निजी मेडिकल कलेजको सिट संख्याका विषयमा पनि छलफल नटुंगिएको उनको भनाइ छ।
यी दुवै विषयलाई प्राविधिक र कानुनी पाटोबाट निष्कर्षमा पुर्याउने गरी सोमबार (आज) जारी वार्तामा छलफल भइरहेको छ।
डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको नियुक्ती खारेजीलाई आफ्नो सत्याग्रहको बटमलाइन बनाएका छन्। उनले स्वार्थ बाझिने ब्यक्तिलाई पदमुक्त नगरेसम्म आफ्नो सत्याग्रह नरोकिने बताइरहेका छन्। उनले दुवै जनालाई हटाएर स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अवरुद्ध नहुने गरी व्यवस्था गर्न माग गर्दै आएका छन्।
वार्तामा सहभागी एक सदस्यका अनुसार विश्वविद्यालयका रजिस्ट्रार र उपकुलपति दुवैलाई हटाउदा विश्वविद्यालय संचालनमा जटिलता आउने भन्दै सरकारी वार्ता टोली निष्कर्षमा पुग्न सकेको छैन। सरकारी वार्ता टोलीले यो विषयमा केन्द्रीय तहमा उच्चस्तरमा पनि जानकारी गराइसकेको छ।
केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जगदीशचन्द्र अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चूडामणि पौडेल धनगढीमा छन्। यसैगरी डा. केसीका तर्फबाट उनका सहयोगी जैशीसहित प्रतिनिधिसभा सदस्य पुकार बम पनि सहभागी छन्। डा. केसी भने सेती अस्पतालको आईसीयूमा उपचाररत छन्।



