वीरगञ्ज। चिकित्सकमाथिको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघ नारायणी शाखाले नारायणी अस्पतालसहित सरकारी तथा निजी स्वास्थ्य संस्था र मेडिकल कलेजहरूमा आकस्मिक (इमर्जेन्सी) सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्दको घोषणा गरेको छ।
शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. प्रमोद राम तथा अन्य चिकित्सकमाथि भएको सांघातिक भौतिक आक्रमण, अस्पतालको संरचनामा गरिएको तोडफोड तथा स्वास्थ्य संस्थाभित्र भएका अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीमाथि तत्काल मुद्दा दर्ता गरी कारबाही नगरेसम्म सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक सेवा बहिष्कार गर्ने निर्णय गरेको हो।
वीरगञ्जस्थित नारायणी अस्पतालमा शनिबार उपचारका क्रममा एक जना बिरामीको मृत्युु भएको थियो। सो घटनापछि अस्पतालमा उपचारमा संलग्न चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो भने अस्पतालमा तोडफोड समेत गरिएको थियो।
उक्त घटनापछि उल्टै चिकित्सकलाई कारबाही गरिएको र तत्कालका लागि जिम्मेवारीबाट हटाइएको भन्दै संघले आन्दोलनको घोषणा गर्दै चार बुँदे माग अघि सारेको हो।
संघका अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा बसेको आकस्मिक कार्यसमिति बैठकले घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
संघले मुलुकी अपराध संहिता तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुनअनुसार मुद्दा दर्ता गरी हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेको छ।
त्यसैगरी, घटनापछि निलम्बनमा परेका चिकित्सकहरूको निलम्बन तत्काल फिर्ता गर्न, उनीहरूको पेशागत सम्मान, सुरक्षा र मनोबल पुनःस्थापित गर्न तथा गठन गरिएको छानबिन समिति खारेज गर्न पनि संघले माग गरेको छ।
संघले चिकित्सक तथा स्वास्थ्य संस्थाको कार्यसम्पादनमा पत्रकार वा अन्य कुनै पक्षबाट हुने अनधिकृत हस्तक्षेप, अनावश्यक दबाब तथा सार्वजनिक रूपमा गरिने पूर्वाग्रही टिप्पणी तत्काल रोक्न आग्रह गरेको छ।
साथै सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा काम गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।
संघले आन्दोलनका कारण सर्वसाधारण र बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय र प्रशासनले लिनुपर्ने उल्लेख गरेको छ।





