काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रको सुधारको मागसहित २४ औँ आमरण अनशनमा बसेका प्रा.डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसहित सम्बद्ध निकायसँग अपिल गरेको छ।
सङ्घले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा.केसी पुनः आमरण अनशनमा बस्नु परेको परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले उठाएका जायज मागको अविलम्ब र उपयुक्त समाधान निकाली अमूल्य जीवन रक्षा गर्न माग गरेको हो।
डा.केसी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि विभिन्न सुधारका माग राखेर साउन ७ गतेदेखि २४ औँ आमरण अनशनमा बसेका हुन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सङ्घले जीवन रक्षाका लागि अपिल गरेको हो।
उनको उमेर र हालसालै सम्पन्न भएको शल्यक्रियाबाट स्वास्थ्य लाभ गरिरहेको परिस्थितिलाई मध्यनजर गर्दा स्वास्थ्य स्थिति थप जोखिमपूर्ण बनेको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संघका महासचिव डा. विश्व राज दवाडी र अध्यक्ष डा.बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “उहाँको उमेर, हालसालै सम्पन्न गरिएको शल्यक्रियाबाट स्वास्थ्य लाभमा रहनुभएको स्थितिलाई मध्यनजर गरी उहाँको जीवन रक्षाका लागि उहाँले उठाउनुभएका जायज मागलाई हदैसम्मको संवेदनशीलताका साथ उपयुक्त समाधानका लागि आवश्यक पहल गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार लगायत सम्पूर्ण सरोकारवालालाई हार्दिक आग्रह गर्दछ।”




