काठमाडौँ। चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।
शुक्रबार राति ५६ एमजी/डीएल रहेको ब्लड सुगर शनिबार बिहान ६ बजे गरिएको परीक्षणमा ५० एमजी/डीएलमा झरेको छ।
डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनको स्वास्थ्य अवस्था विस्तारै कमजोर हुदै गइरहेको छ भने शुक्रबार राति ब्लड सुगर ५६ एमजी/डीएल रहेकोमा बिहान ६ बजे चेक गर्दा ५० एमजी/डीएल रहेको छ। यसैगरी ब्लड प्रेसर पनि फ्लक्चुयट भइरहेको छ।
डा. केसीको मांसपेशीहरु बाउडिने र बोल्न पनि असहज हुने अवस्था देखा परेको जैसीले जानकारी दिए। उनले अनशन सुरु गर्ने केही समय अघि मात्र खुट्टाको अपरेशन गरेका कारण पनि हिडडुल गर्न तथा बाथरुम जान समेत कठिन भइरहेको छ।
डा. केसीको स्वास्थ्य अवस्थाको थप चेकजाँच तथा मोनिटरिङ गर्न सेति प्रादेशिक अस्पतालका फिजिशिएन डा. जगेन्द्र दुवालको नेतृत्वमा मेडिकल टिम तयार गरेर चेकजाँच चलिरहेको जैसीले जानकारी दिए।
डा. केसी सत्याग्रहमा बसेपछि शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार उनलाई फोन गर्दै वार्तामा आउन आग्रह गरेका थिए। सो फोन संवादमा डा. केसीले मुख्यत: शहिद दशरथ चन्द मेडिकल विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्न तथा ३०० शैयाको पुर्णकालिन अस्पताल गेटामा सन्चालन गर्ने लगायत मागहरु स्पष्टसँग राखेर आफ्ना मागहरुलाई सम्बोधन गर्ने गरी गृहकार्य गरेर वार्तमा आउन अनुरोध गरेका थिए।
डा. केसीले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा साउन ७ गते बिहीबार दिउसो पत्रकार सम्मेलन गर्दै अनसन सुरु गरेका थिए।



