काठमाडौँ। नेपाली कांग्रेसले भारतीय जेलमा रहेका नेपाली कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई अविलम्ब रिहाइको पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
बजारमा समयमा नै रासायनिक मल नपाएपछि सर्लाही बलराका यी दुई कृषक सीमावर्ती भारतीय बजार सोनवरसाबाट मल खरिद गरी ल्याउने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएको थियो।
विगत २० दिनदेखि विहार, सीतामढी, डुमरास्थित भारतीय जेलमा उनीहरुलाई राखिरहेको तथ्य बाहिर आएपछि कांग्रेसले परिवार र स्थानीय समुदायसँग समेत जानकारी लिएर वास्तविकता बुझ्ने प्रयास गरेको थियो।
`ती किसान दाजुभाइ आफ्नो खेतमा प्रयोग गर्नको लागि मल लिन जानु भएको रहेछ। किसानले भोगेको समस्या र त्यसपछिको परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।´ कांग्रेसले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ, छिमेकी देशबाट २ बोरा युरिया र डिएपी मल किनेर मलको जोहो गर्न बाध्य दुई जना किसानलाई पक्राउ गरी जेलमा राखेको २० दिन पुग्दा समेत तदारुकताका साथ पहलकदमी हुन नसक्नु दुःखद विषय हो। ‘मल गोदाममा, किसान जेलमा’ अत्यन्त बिडम्बना हो।´
सरकारले उनीहरूको रिहाई एवं समस्या समाधानमा व्यबहारिक, कुटनीतिक र कानूनी प्रक्रिया मार्फत् तत्काल पहलकदमी लिनु पर्ने कांग्रेसले भनेको छ।
कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, `नेपाली कांग्रेस भारत सरकार समक्ष पनि हार्दिक अनुरोध गर्दछ– नेपाल र भारत बीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास तथा दुई देशका नागरिक बीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखी, केवल आफ्नो खेतीका लागि आवश्यक मल खरिद गर्ने क्रममा पक्राउ परेका किसानलाई अविलम्ब रिहाइ गरियोस्!´
कांग्रेसले नेपाल र भारत बीचको सम्बन्ध केवल दुई सरकार बीचको सम्बन्ध मात्र नभई दुई देशका जनता बीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको यथार्थलाई दुबै सरकारले आत्मसात् गर्दै यस्ता संवेदनशील विषयलाई सोही दृष्टिकोणबाट समाधान गर्न पनि आग्रह गरेको छ।



