हेटौंडा। नेकपा एमालेका तर्फबाट बागमती प्रदेशको सरकारमा सहभागी ६ मन्त्रीले राजीनामा दिएका छन्।
एमालेबाट सरकारमा सहभागी ६ जना मन्त्रीले बुधबार मुख्यमन्त्री इन्द्र बानियाँ समक्ष सामुहिक राजीनामा बुझाएका हुन्।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई दिइएको समर्थन समेत फिर्ता लिइएको बताए।
उनले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ।
साथै पत्रमा राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन पत्रमा आग्रह गरिएको छ।
बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री जयराम थापा, कृषि, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए।



