ललितपुर। नेपाली कांग्रेसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘ग्रीन रन’ कार्यक्रम आयोजना गरेको छ।
बुधबार कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको सभापति गगन थापाले ललितपुरको युएन पार्कमा शुभारम्भ गरे।
जावलाखेलसम्म आयोजना गरिएको कुल ५ किलोमिटर दुरी तय ‘ग्रीन रन’ कार्यक्रममा १३ सय बढी ब्यक्तिले नाम दर्ता गराएरै सहभागिता जनाएका थिए भने प्रतियोगी र अप्रतियोगी गरी पाँच हजार भन्दा बढीको सहभागिता थियो।
‘ग्रीन रन’ मा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतले पनि प्रतियोगीका रुपमा भाग लिएका थिए।
कार्यक्रममा जलवायू परिवर्तन र नेपालले भोगिरहेको अवस्थाका विषयमा `ग्रीन टेवल´ संवाद समेत आयोजना गरिएको थियो भने क्यानभासमा चित्र बनाउने कार्यक्रमसमेत आयोजना गरिएको थियो।
यसैगरी कार्यक्रममा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न बिरुवा रोप्नु पर्ने सन्देश दिन बिरुवा वितरणसमेत गरिएको थियो।



