मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

images
२०८३ श्रावण ५ गते, मंगलवार
२०८३ श्रावण ५ गते, मंगलवार
  • काठमाडौँ। मधेश प्रदेशमा विशेषज्ञ मिर्गौला उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गठित सम्भाव्यता अध्ययन समितिले जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस गरेको छ।

    images

    समितिले प्राविधिक, पूर्वाधार, जनशक्ति, आर्थिक तथा सामाजिक पक्षको अध्ययनपछि संघ र प्रदेश सरकारको सहकार्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरबाट केन्द्र सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो।

    images

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका मुजेलियामा सार्वजनिक मोडल अन्तर्गत मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्ने प्रस्ताव गरिएको छ।

    प्रस्तावित केन्द्रलाई मध्यमकालीन (६–१० वर्ष) परियोजनाका रूपमा अघि बढाउने तथा स्वास्थ्य क्षेत्रअन्तर्गत सामाजिक क्षेत्रको प्राथमिकता प्राप्त आयोजनाका रूपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।

    नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा क्यान्सर तथा मिर्गौला प्रत्यारोपणजस्ता जटिल उपचार सेवालाई प्रदेशस्तरमा विस्तार गर्ने लक्ष्यअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. विक्रम वीर वज्राचार्यको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति गठन गरेको थियो।

    समितिमा डा. कल्पना कुमारी श्रेष्ठ, डा. धिरज नारायण मानन्धर, डा. हेमन्त चन्द्र ओझा तथा मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद ढकाल (सदस्य–सचिव) रहेका थिए।
     
    समितिले मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, बर्दिबास नगर अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, प्रादेशिक अस्पताल मलंगवा तथा नारायणी अस्पतालको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल र प्राविधिक मूल्याङ्कनपछि प्रतिवेदन तयार गरेको हो।

    प्रतिवेदनअनुसार नेपालमा करिब ६.२ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मिर्गौला रोगबाट प्रभावित छन् भने मधेश प्रदेशमा निकै कम नेफ्रोलोजिस्ट कार्यरत छन्। प्रदेशमा हेमोडायलाइसिस मेसिन, विशेषज्ञ सेवा र मिर्गौला प्रत्यारोपण सेवाको पहुँच सीमित रहेकाले अधिकांश बिरामी उपचारका लागि काठमाडौं तथा अन्य प्रदेश धाउनुपर्ने अवस्था रहेको उल्लेख छ।

    समितिले केन्द्र सञ्चालनका लागि संघ, प्रदेश तथा संघ–प्रदेश सहकार्यका तीन मोडल अध्ययन गरेको थियो। त्यसमध्ये संघ र प्रदेश सरकारको सहकार्यमा सञ्चालन हुने मोडललाई सबैभन्दा उपयुक्त ठहर गर्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सञ्चालन गर्न सिफारिस गरिएको छ।

    प्रतिवेदनमा यस मोडलबाट स्रोत व्यवस्थापन, विशेषज्ञ जनशक्ति परिचालन र सेवाको दिगोपना सुनिश्चित गर्न सहज हुने उल्लेख गरिएको छ।

    प्रस्तावअनुसार केन्द्रको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा विशेषज्ञहरूको सहभागितासहित अस्पताल विकास समिति गठन गरी परियोजना अघि बढाउने अवधारणा पनि प्रस्तुत गरिएको छ।

    समितिले जनकपुरमा मिर्गौला उपचार केन्द्र स्थापना भए मधेश प्रदेशका बिरामीले आफ्नै प्रदेशमा विशेषज्ञ उपचार पाउने, काठमाडौं केन्द्रित उपचारको चाप घट्ने तथा दीर्घकालीन रूपमा स्वास्थ्य प्रणाली थप सुदृढ हुने निष्कर्ष निकालेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend