काठमाडौँ। कीर्तिपुरमा रोकेको ठाउँमा कारमा आगो लाग्दा कारभित्र जलेका व्यक्ति ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ भएको पुष्टि भएको छ।
कीर्तिपुर, ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा उनले चलाएको बा.५ च ३०३८ नम्बरको कारमा अचानक आगो लागेको थियो। कारमा आगो लाग्दा उनी कारभित्रै थिए भने आगो नियन्त्रणमा लिएपछि उनी मृत भेटिएको प्रहरीले जनाएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार नरदेवी घर भएका ७० वर्षीय श्रेष्ठ कीर्तिपुरस्थित ट्याङ्लाफाँट बस्दै आएका थिए।
आगलागिपछि श्रेष्ठको मृत शरीर पोस्ट मार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पुर्याइएको छ।
श्रेष्ठले सो कार नबिल बैंकबाट ऋण लिएर २०६२ कार्तिक २७ मा किस्तामा खरिद गरेको भेटिएको छ।



