काठमाडौँ। सुन्दा अचम्म लाग्ला, तर सत्य हो। आन्तरिक राजस्व परिचालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले उपभोक्ताहरूका लागि बजेट मै गरिएको ब्यवस्थाबाट चिट्ठा बाढ्डै छ। यो पनि हरेक दिन एक जना नेपाली नागरिकलाई लखपति बनाउने गरेर र महिनामा दुई जनालाई बम्परमा १०–१० लाख उपलब्ध गराउने गरेर। तर त्यसका लागि कर प्रणालीमा आबद्ध भएको हुनु पर्नेछ भने वस्तु वा सेवा खरिद गर्दा बिल लिनु पर्नेछ।
अर्थ मन्त्रालयले 'करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३' जारी गर्दै वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिने उपभोक्तालाई नगद उपहार दिने व्यवस्था गरेको हो।
कार्यविधि अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सहभागी हुन पाउनेछन्।
तर नगद भुक्तान गरेका उपभोक्ताले भने विभागको सञ्चालित वेब पोर्टल वा मोबाइल एप्लिकेसनमा गएर बिल नम्बर, विक्रेताको स्थायी लेखा नम्बर (प्यान), बिल जारी मिति र रकमसहितका विवरणहरू प्रविष्ट गर्नुपर्ने छ। अनलाइन भुक्तान गरेकाहरु भने स्वत: यो योजनामा सम्मिलित हुनेछन्।
यो योजनामा सहभागी हुन आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिन सरकारले आम उपभोक्तालाई अनुरोध गरेको छ। उक्त बिल नम्बर नै ग्राहकलाई लखपति बनाउने छ।
यस कार्यक्रम अन्तर्गत प्रत्येक महिनाको १ गते र १६ गते विजेताहरूको छनोट हुनेछ। प्रत्येक दिनका लागि एक जना र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताको छनोट स्वचालित प्रणालीमार्फत पारदर्शी रूपमा गरिने कार्यविधिमा उल्लेख छ।
उपहारको राशितर्फ दैनिक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन् भने १५ दिनमा छानिने बम्पर विजेताले १० लाख रुपैयाँ पाउनेछन्। यद्यपि, आयकर ऐन अनुसार यस्तो आकस्मिक लाभमा २५ प्रतिशत कर कट्टी हुनेछ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को अधिकार प्रयोग गरी बनाइएको यो कार्यविधिमार्फत सरकारले बजारमा बिल लिने संस्कृतिको विकास गर्ने र वास्तविक कारोबारलाई अभिलेखीकरण गर्ने लक्ष्य लिएको छ।
तर, व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी निकायका बिल, टेलिफोन, विद्युत्, सवारी साधन र हवाई टिकट जस्ता खरिदलाई भने यो उपहार कार्यक्रममा समावेश गरिएको छैन।
यस्तो छ कार्यविधि:









