मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्दै सरकार, कसले पाउँछन्?

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्दै सरकार, कसले पाउँछन्?

images
२०८३ आषाढ ३१ गते, बुधवार
२०८३ आषाढ ३१ गते, बुधवार
  • काठमाडौँ। सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।

    images

    मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्ने निर्णय गरेको हो।

    images

    शिक्षा तथा खेलकुद मन्त्रालयले खेलाडीको सम्मान र प्रोत्साहनका लागि नगद पुरस्कारसहित सम्मान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो। सोही प्रस्तावका आधारमा सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी तथा खेलाडी टोलीलाई सम्मान गर्न लागेको हो।

    मन्त्रालयका अनुसार राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२) अनुसार खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितको टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

    यसअघि पनि अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्दै आइए पनि यो हालसम्मकै सबैभन्दा ठुलो नगद पुरस्कार राशि हो। सरकारले खेलाडी तथा खेलाडी टोलीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक यति ठुलो रकम पुरस्कार स्वरूप प्रदान गर्न लागेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितका १०१ जनालाई नगद पुरस्कारसहित सम्मान गरिनेछ।

    प्रस्तावित पुरस्कार सूचीमा मालदिभ्समा सम्पन्न १५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२४ का पदक विजेता चार खेलाडी समावेश छन्। त्यसैगरी, भारतमा सम्पन्न प्रथम खो–खो विश्वकप–२०२५ मा रजत पदक जित्ने महिला टोलीका १८ तथा पुरुष टोलीका १८ खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ।

    त्यस्तै, युडब्लु एसियन बेल्ट रेस्लिङ–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, मलेसियामा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दो प्रतियोगिता–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, चीनमा सम्पन्न छैटौँ एसियन बीच गेम्स–२०२६ अन्तर्गत बीच कबड्डी महिला टोलीका कांस्य पदक विजेता सात खेलाडी तथा मलेसियामा सम्पन्न एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ का स्वर्ण पदक विजेतासहित १७ खेलाडीलाई पनि मन्त्रालयले पुरस्कृत गर्नेछ।

    यस्तै, थाइल्यान्डमा सम्पन्न ५७औँ बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२५ का कांस्य पदक विजेता एक खेलाडी, श्रीलंकामा सम्पन्न एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप–२०२५ का स्वर्ण पदक विजेता एक खेलाडी, बहराइनमा सम्पन्न आइएसएफ जिम्नासियाड–२०२४ का स्वर्ण र कांस्य पदक विजेता नौ खेलाडी तथा ओमानमा सम्पन्न एसिसी मेन्स इस्ट जोन क्वालिफायर–२०२४मा स्वर्ण पदक जित्दै विश्वकपमा छनोट भएका २० खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।

    राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा तयार गरिएको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सम्बन्धित खेलाडी तथा टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend