काठमाडौँ। मन्त्रीपरिषद् बैठकले विपद् उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले विपद् उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिनेसहितका पाँच निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।
यसैगरी बैठकले बिउबिजनसम्बन्धी नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता पोखरेलका अनुसार बैठकले 'बिउबिजन (पहिलो संशोधन) नियमावली–२०८३' स्वीकृत गर्ने निर्णय गरेको हो।
यस्तै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा पदक हासिल गरी राष्ट्रको मान बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मानपत्र प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यसैगरी नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको कार्यभार सम्हाल्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।
मन्त्रीपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) पीडितको समस्या समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ।



