काठमाडौँ। गत शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको काठमाडौंमा उपचारका क्रममा निधन भएको छ ।
सर्लाही, गोडैता नगरपालिकाका मण्डललाई आत्मदाहको प्रयासपछि उद्धार गरी गत शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।
काठमाडौँ ल्याइए लगत्तै उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु गरिएको थियो भने उपचारकै क्रममा मंगलबार बिहान २:०५ बजे निधन भएको हो।
कीर्तिपुरको बर्न अस्पतालका अनुसार मण्डको आईसीयूमा राखेर उपचार भइरहेको थियो। अस्पतालका मेडिकल डाइरेक्टर किरण नकर्मीका अनुसार मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो।
२५ वर्षीय विवेकले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनले घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए।
गत बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए। उनको शुक्रबार वीर अस्पतालमा उपचारकि क्रममा निधन भएको थियो। ।
यसैगरी शनिबार काठमाडौंको बुद्धनगरमा पनि एक जनाले आत्मदाहको प्रयास गरेका थिए। उनको पनि उपचारका क्रममा वीर अस्पतालमा शनिबार निधन भएको थियो।



