काभ्रे। स्थानीय प्रशासनले रोशी खोलामा आउन सक्ने बाढीको सम्भावित जोखिमलाई ध्यान दिंदै बीपी राजमार्गमा अस्थायी रूपमा सवारीसाधन होल्ड गरेको छ।
जलाधार क्षेत्रमा निरन्तरको वर्षापछि बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिंदै सवारीसाधन अस्थायी रूपमा होल्ड गरिएको हो। यो सडकमा वर्षापछि सडकमा बनाइएको अस्थायी डाइभर्सन बगाउँदा निरन्तर सडक अवरुद्ध हुँदै आइरहेको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार दिउँसो १२ः ३३ बजे एक सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको हो।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख रविन कार्कीले रोशी खोलाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यान दिंदै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना नभएसम्मका लागि होल्ड गरिएको बताए।
प्रहरीले यात्रु तथा सवारीचालकलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन तथा अद्यावधिक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।



