विराटनगर। विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गामा बनेका संरचना भत्काउन सोमबार विहानैदेखि डोजर चलाइएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले कोशी अस्पतालको अतिक्रमित जग्गामा बनेका संरचना भत्काउन अभियान नै चलाएको हो। अस्पतालको स्वामित्वमा रहेको जग्गामा विभिन्न संघ–संस्थाले संरचना निर्माण गरी ब्यवसायिक रुपमा भाडामा लगाउँदै आएका छन्।
ती संरचना भत्काएर जग्गा खाली गर्न सोमबार बिहानैदेखि अभियान सुरु गरिएको हो। संरचना भत्काउन तीनवटा जेसिबीको प्रयोग गरिएको छ। दशकौँदेखि निर्माण गरिएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संघ, गणेश मन्दिर र देवकोटा पुस्तकालयलगायत संस्थाका सटर तथा भवनहरू भत्काइएको छ।
कोशी अस्पतालका सूचना अधिकारी नवराज लुइँटेलका अनुसार नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले निर्माण गरेका २६ वटा सटर तथा कोशी अस्पतालको स्वामित्वमा रहेका ६ वटा सटर गरी कुल ३२ वटा सटर भत्काइसकिएको छ।

यी संस्थाले लामो समयदेखि अस्पतालको जग्गामा संरचना निर्माण गरी औषधि पसल तथा चिकित्सकीय क्लिनिक सञ्चालनका लागि भाडामा लगाउँदै आएका थिए।
केही दिन अघि गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै अतिक्रमित जग्गामा बनेका संरचना भत्काउन निर्देशन दिएका थिए।
सो क्रममा अस्पतालको विकासमा बाधा पुग्ने गरी सञ्चालनमा रहेका व्यावसायिक पसल सात दिनभित्र खाली गर्न निर्देशन दिइएको थियो। प्रशासनले दिएको समयसीमा आइतबार सकिएसँगै बिहानैदेखि डोजर परिचालन गरिएको हो।
डोजर परिचालन हुँदा अस्पताल क्षेत्रमा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गर्दै अस्पताल क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार तत्कालका लागि संघ–संस्थाले व्यावसायिक प्रयोजनमा प्रयोग गरेका संरचना मात्र हटाइनेछ।
कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा चन्द्रलाभ झाले अतिक्रमण संरचना बनाइएको क्षेत्रमा बाउन्ड्री वाल निर्माण गरिने जानकारी दिए।




