काठमाडौँ। काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगरमा रहेको भाडाको कोठामा ती पुरुषले शनिबार बिहानै आत्मदाहको प्रयास गरेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार आत्मदाहको प्रयास गर्ने ती ब्यक्ति ४५ वर्षीय अश्विन राउत हुन्।
घटनाको जानकारी पाएपछि प्रहरीले उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएको छ। प्रहरीका अनुसार राउत पारिवारिक विवादमा रहेको बुझिएको छ।
विवादकै बीचमा उनले आत्मदाहको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। राउत लामो समयदेखि डिप्रेसनमा समेत रहेको उनको पारिवारिक स्रोत बताउँछ।
उनको शरीरको ५५ प्रतिशत जलेको अस्पतालले जानकारी गराएको एसपी भट्टराईले जानकारी दिए। हाल उनको वीर अस्पतालको बर्न युनिटको अति सघन उपचार कक्षमा उपचार जारी छ।
यसअघि गणेश नेपालीले काठमाडौँँको त्रिपुरेश्वरमा बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका थिए। उनको शुक्रबार उपचारका क्रममा निधन भएको थियो।



