काठमाडौंँ। काठमाडौँका सुकुम्बासी उठाएर राखिएको कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टरमा बाढी पसेको छ।
शुक्रबार रातिको लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टरमा बाढी पसेपछि डुबानमा परेको हो।
डुबानपछि सुरक्षाकर्मीले राति नै ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको स्मृति भवनमा स्थानान्तरण गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएको थियो। त्यसलगत्तै दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वमा विपद् व्यवस्थापन (डीएम) टोलीसहित ३० जना सशस्त्र प्रहरी र ३० जना नेपाल प्रहरीका सुरक्षाकर्मी उद्धार कार्यमा परिचालन गरिएको थियो।
प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन्। बाँकी ९४ जनाले भने अन्यत्र जान नमानेपछि पानी नपसेको सुरक्षित स्थानमै छन्। उनीहरू सुरक्षाकर्मी र सम्बन्धित निकायको निगरानीमा रहेको प्राधिकरणले जनाएको छ।
वाग्मती नदीमा बहाव बढिरहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।



