काठमाडौँ। आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका मुगुका युवा गणेश नेपालीको मृत्यु भएको छ।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिआफ्नो मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले `ह्वील लक´ लगाएपछि उनले आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि उनलाई वीर अस्पतालमा पुर्याएर बर्न वार्डमा उपचार सुरु गरिएको थियो।
वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको शुक्रबार बिहान ११ बजेर २० मिनेट जाँदा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
बुधबार राति नै सरकारले उनलाई थप उपचारका लागि भारत लाने तयारी गरेको थियो। चिकित्सकले उनको अवस्था ठिक नभएको र अस्थिर अवस्थामा भेन्टिएटरबाट निकाल्न नमिल्ने बताएका थिए।
नेपालीको अनुहार, टाउको, घाँटी, छाती गरी ६० प्रतिशत भाग जलेको चिकित्सकहरुले बताएका थिए।



