काठमाडौँ। बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेर घाइते भएका गणेश नेपालीलाई तत्काल थप उपचारका लागि भारत नलगिने भएको छ।
नेपालीलाई थप उपचारका लागि सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने गरी भारतको दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी गरिएको भएपनि चिकित्सकहरुले उनको अवस्था जटिल रहेको र अहिले नै भेन्टिलेटरबाट निकाल्न उपयुक्त नहुने सुझाएपछि सरकार तत्कालका लागि पछि हटेको हो। हाल उनको वीर अस्पतालको आईसीयू वार्डमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
बुधबार राति नै सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने गरी नेपालीलाई नेपाल एयरलाइन्सको विमानबाट भारतको दिल्ली लग्ने तयारी गरेको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालयका कर्मचारी र गृहमन्त्री सुधन गुरुङ त्यसका लागि तयारीमा खटिएका थिए। तर चिकित्सकको सुझावपछि सरकार अहिले नै उनलाई भारत लैजाने निर्णयबाट पछि हटेको हो।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन्। त्यसैले गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाइ) खटिरहेका छन् ।
नेपालीले बुधबार दिउँसो त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्दै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
लगत्तै उनलाई वीर अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। चिकित्सकहरुले उनको शरीरको ५५ प्रतिशत भाग जलेको र अवस्था गम्भीर रहेको बताएका छन्।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सक्रिय छन्।



