काठमाडौँ। काठमाडौँमा गरिखाने वातावरण नरहेको र गरिब ब्यक्ति आर्थिक अभावकै कारण आत्म दाहको बाटोमा जान बाध्य भएको अर्को घटना सार्वजनिक भएको छ।
केही वर्ष अघि इलामका प्रेमप्रसाद आचार्यले ब्यवसायमा भोगेको असफलता र ऋणका कारण बानेश्वरस्थित संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएको घटना नबिर्सदै काठमाडौँमै अर्को एउटा घटना फेरि त्यस्तै कारण घटेको समाचार नेपाली जनताको कानमा परेको छ।
घटना बिहीबार दिउँसोको हो। त्रिपुरेश्वर स्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे। मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका उनले आफ्नो मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाइदिएपछि जरिवाना बापत तिर्ने रकम नभएर आत्म दाहको प्रयास गरेको बताइएको छ। उनी भक्तपुर बस्दै आएका छन्।
उनले बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकल चलाउदै आएका थिए। नेपाली पठाओ राइडर हुन्। उनी बिहीबार दिउँसो १ बजेर ४५ मिनेटमा त्रीपुरेश्वर राहदानी विभाग अगाडि पुगेका थिए भने त्यही अगाडि उनले मोटरसाइकल रोक्दा चक्कामा काठमाडौँ महानगरपालिकाबाट खटिएका प्रहरीले ह्वील लक लगाइदिएका थिए।
सो क्रममा उनको महानगरपालिबाट खटिएका प्रहरीसँग विवाद भएको प्रत्यक्षदर्शीहरू बताउँछन्। गणेशले ह्वील लक खोलिदिन आग्रह गर्दा पनि महानगर प्रहरीले जरिवाना रकम नबुझाएसम्म नखोल्ने भनेपछि विवाद भएको प्रत्यक्षदर्शी बताउँछन्।
घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतका अनुसार त्यसपछि गणेशले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याए र आगो लगाएको खुलेको छ।
मुल सडकसँगै मानिसले आगो लगाएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी वृत्त कालीमाटीबाट खटिएका प्रहरी हवल्दार विकाश बुढाथोकीले उनलाई बा.२ ज १५८० नम्बरको ट्याक्सीमा राखेर वीर अस्पताल पुर्याएका थिए। उनको अहिले वीर अस्पतालको आईसीयुमा उपचार भइरहेको छ।
घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृत भन्छन्, ‘ह्वील लक गरेपछिको विवाद नै आत्मदाह प्रयासको मुख्य कारण देखिन्छ।’
गणेश बिहीबार बिहान ५ बजे बालाजु स्थित दाइको डेराबाट राइड सेयरिङ एपमार्फत राइड गर्न भन्दै निस्केका थिए। पत्नी र छोरा सहित भक्तपुर बस्ने भएपनि उनी गएराति दाइको डेरामा बसेर बिहीबार बिहानै निस्किएको उनका सहोदर दाजुले बताएका छन्।



