सुर्खेत। डोल्पामा अविरल वर्षापछि आएको हिलो सहितको बाढीमा पुरिँदा घाइते भएकी ४४ वर्षकी रेउली विकलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ।
आज विहान ३ बजे डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा पर्ने धुलाखोलामा आएको हिलो सहितको बाढीमा पुरिँदा प्रभावित भएकाहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ।
सो क्रममा घाइते भएकी विकलाई सेनाले उद्धार गरेर हेलिकप्टर मार्फत थप उपचारका लागि सुर्खेत स्थित स्थित प्रादेशिक अस्पताल ल्याएको हो।
डोल्पामा अविरल वर्षापछि आएको हिलो सहितको बाढीमा पुरिँदा घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी
आनन्दा विकको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।
विकको प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा परेर ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्।
घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सुर्खेत ल्याइएको हो। अन्य तीन जना उपचारपछि डिस्चार्ज भएका छन्।
प्रारम्भिक विवरणअनुसार बाढीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको छ। प्रहरीले बाढीबाट भएको थप क्षतिको विवरण सङ्कलन तथा घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ।



