काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ।
बीमा बोर्डले शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य संस्थालाई २०८२ मंसिर सम्मको बीमा वापतको भुक्तान गर्न बाँकी सबै दाबी बक्यौता रकम फरफाक गरिएको जनाएको हो। त्यसपछिको बक्यौता रकमका लागि आवश्यक रकमको ब्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले भनेको छ।
बोर्डले सीमित स्रोत साधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको उपचार खर्च न्यूनीकरण र वित्तीय जोखिम संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ।
बोर्डको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न नसकिएको पनि स्पष्ट पारेको छ। यसबाट सेवा प्रदायक तथा बीमित सेवाग्राहीहरूमा असहज परिस्थिति उत्पन्न भएको विषयप्रति बोर्ड पूर्ण रूपमा जानकार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीहरूको उपचार सेवामा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी निर्धारित मापदण्ड बमोजिम निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइउन पनि अनुरोध गरेको छ।
साथै, सम्पूर्ण बीमित सेवाग्राहीहरूलाई स्वास्थ्य बिमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिई बिमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो भूमिका निर्वाह गर्न समेत अपिल गरेको छ।




