काठमाडौँ। चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा नियुक्त वरिष्ठ चिकित्सक डा.योगेन्द्रप्रसाद सिंहले पद तथा गोपनीयताको सपथ लिएका छन्।
सरकारले डा. सिंहलाई केही दिन अघि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा नियुक्त गरेको थियो।
नियुक्तिपछि उनले आज शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
अध्यक्ष पदका लागि प्राप्त आठ जनाको आवेदन परेको थियो। अध्यक्ष छनोटका लागि स्वास्थ्य मन्त्रालयले गत वैशाख १५ गते खुला आवेदन आह्वान गरेको थियो।
आवेदन दिएका मध्येबाट छनोट समितिले डा.योगेन्द्रप्रसाद सिंह, डा.अजयकुमार झा र डा.विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। तीमध्येबाट डा.सिंह अध्यक्षमा नियुक्त भएका हुन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुन्।
शपथ ग्रहणसँगै उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हाल्न औपचारिक रूपमा पत्र पाएका छन्।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष बन्न चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी) उत्तीर्ण गरी क्यान्सर क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएको हुनुपर्ने कानुनी व्यवस्था छ।



