धनगढी। हेलमेट नलगाइ मोटरसाइकल चलाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा परेका छन्।
मुख्यमन्त्री शाहले निवास परिसरमा हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। सोही भिडियोलाई लिएर ट्राफिक प्रहरीले निवासमै पुगेर उनलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै पाँच सय रुपैयाँको चिट काटेको हो।
बिहीबार नै पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गरेका छन्। आफूले नै नियमअनुसार कारवाही गर्न ट्राफिक प्रहरीलाई आग्रह गरेको शाहको दावी छ।
मुख्यमन्त्री शाहले कानून सवैलाई बराबरी हुनुपर्छ भन्ने उद्देश्य अनुसार आफुले ट्राफिक प्रहरीलाई जरिवाना काट्न आग्रह गरेको बताए।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकबाट शाहले हेल्मेटबिना मोटरसाइकल चलाएको भिडिओ सार्वजनिक गरेका थिए।




