पोखरा। गण्डकी प्रदेशमा एचआइभी सङ्क्रमितको संख्या तीन हजार भन्दा बढी पुगेको छ।
गण्डकी प्रदेशका ११ जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म एचआइभी सङ्क्रमितको सङ्ख्या तीन हजार १७१ पुगेको तथ्यांक सार्वजनिक भएको हो। जसमध्ये एक हजार ६१९ पुरुष, एक हजार ५४१ महिला र ११ जना अन्य लैङ्गिक समूहका छन्।
प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी, पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाका अनुसार सो तथ्यांक भित्रका एक हजार ५८९ पुरुष, एक हजार ५१५ महिला तथा १५ वर्षमुनिका ५६ जना (३० बालक र २६ बालिका) नियमित रूपमा एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) सेवा लिइरहेका छन्। यस्तै तीन हजार ३१७ गर्भवती महिलामध्ये परीक्षण गर्दा पाँच जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ।
सार्वजनिक तथ्यांकअनुसार प्रदेशमा सबैभन्दा धेरै कास्कीमा मात्र एक हजार ६२९ जना सङ्क्रमित रहेको देखिएको छ। यस्तै तनहुँमा २६०, गोरखामा २४०, बागलुङमा २१८, नवलपुर (पूर्व) मा १६२, लमजुङमा १३९, म्याग्दीमा ९५, स्याङ्जामा ३४४ र पर्वतमा ८४ जना सङ्क्रमितले एआरटी सेवा लिइरहेका छन्।
कण्डमको प्रयोग घट्दो
गण्डकी प्रदेशका ११ जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म कन्डमको प्रयोग पनि घट्दो अवस्थामा रहेकी पाइएको छ।
कोभिड–१९ महामारीपछि विकास साझेदार संस्थाहरूले सहयोग कटौती गरेका कारण कण्डम खरिद तथा वितरण प्रभावित भएको अधिकृत बसौलाले बताए।
प्रादेशिक जनस्वास्थ्य केन्द्रले तयार पारेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशका ११ जिल्लामा २३ लाख ९७ हजार ६९८ वटा कण्डम वितरण गरिएको थियो।
यस्तै आर्थिक वर्ष २०८१/८२ मा घटेर २२ लाख ६४ हजार १२३ वटा कण्डम वितरण भएकोमा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म १७ लाख ३३ हजार २५९ वटा मात्र कण्डम वितरण भएको पाइएको छ।
जिल्लागत रूपमा सबैभन्दा बढी कण्डम कास्कीमा वितरण हुने गरेको तथ्यांक छ। आर्थिक वर्ष २०८०/८१ मा कास्कीमा पाँच लाख ११ हजार ७७८ वटा कण्डम वितरण भएको थियो। चालु आर्थिक वर्षको वैशाखसम्म यो सङ्ख्या चार लाख ११ हजार ३९ मा झरेको छ।
गोरखा, बागलुङ, तनहुँ, लमजुङ, स्याङ्जा, म्याग्दी, नवलपुर (पूर्व), पर्वत, मुस्ताङ र मनाङमा पनि कण्डम वितरण क्रमशः घट्दै गएको तथ्याङ्कले देखाएको छ।
सबैभन्दा कम मनाङमा चालु आर्थिक वर्षको वैशाखसम्म नौ हजार ५६० वटा कण्डम वितरण गरिएको छ। उक्त तथ्याङ्क सरकारी स्वास्थ्य संस्था तथा वडा कार्यालयमार्फत वितरण गरिएका कण्डमको हो। निजी क्षेत्रबाट पनि उल्लेख्य मात्रामा कण्डम वितरण हुने गरेको जनाइएको छ।
बसौलाले कण्डम परिवार नियोजनको साधन मात्र नभई एचआइभी तथा अन्य यौनजन्य सङ्क्रमण (एसटिआई) बाट जोगाउने प्रभावकारी माध्यम भएको बताए। उनका अनुसार कण्डम वितरणमा आएको कमीले सुरक्षित यौन व्यवहार प्रवर्धनका प्रयासमा चुनौती थपिएको छ।



