चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र मंगलबार विहानसम्मका लागि सरेको छ।
रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा जारी छ। जारी महाधिवेशनको उद्घाटन आइतबार भएको थियो। तर प्रतिनिधिहरुको विवादका कारण बन्दसत्र सुरु हुन सकेको छैन।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्र मंगल बिहान ७ बजेपछि सुरु गर्ने गरी आजको बन्दसत्र स्थगित गरिएको छ।
प्रतिनिधिहरु विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्दसत्र सारिएको महामन्त्री बुर्लाकोटीले बताए। बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुँदैछ।
उनका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। त्यसमा छलफल भएपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदनको प्रस्तुति र छलफल हुनेछ।
कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र सोमाथि छलफल हुनेछ सो पश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ।
विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने छन् भने उक्त प्रतिवेदन बन्दसत्रबाट छलफल र अनुमोदन गरिने छ।
पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ।



