चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले रास्वपा नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन्।
रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रलाई चितवनको भरतपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।
उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा नेकपा (एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले सरकारको सञ्चालनलाई गाडीको ब्रेक र एक्सिलेटरसँग तुलना गरेका थिए। जवाफमा प्रधानमन्त्री शाहले सरकारको गति गन्तव्यमा पुगेर मात्र रोकिने स्पष्ट पारे।
“गाडीमा ब्रेकको चिन्ता लोकल सडकमा हिँड्दा मात्र हुन्छ। हाम्रो गाडी कुनै लोकल सडकमा होइन, `एक्सप्रेस वे´ मा गुडिरहेको छ, जुन गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ।” प्रधानमन्त्री शाहले भने।
उनले वर्तमान सरकारको यही कार्यकालभित्रै सुकुमवासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास पनि दिलाए।
प्रधानमन्त्री शाहले सङ्घीय संसद् (प्रतिनिधिसभा)मा आफैँले नेपाल–भारत सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिबारे चितवन पुगेर थप स्पष्टीकरण पनि दिए।
संसद्मा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिस (बेलायत)सँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उनले भने, “हामीसँग कालापानी र लिपुलेक नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ। तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौँ मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका हैनौँ।”
उनले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफैँ संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शङ्का नगर्न आग्रह गरे।
महाधिवेशन प्रतिनिधिलाई निर्देशित गर्दै प्रधानमन्त्री शाहले महाधिवेशन अवधिभर दलको आन्तरिक सुदृढीकरणमा केन्द्रित हुन र त्यसपछि पाँच वर्ष देशको बृहत्तर हित र विकासका लागि सोच्न आग्रह गरे। रास्वपाको एकल सरकार रहेकाले महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा चुनिए पनि वा नचुनिए पनि हरेक रास्वपाकर्मी आफैँमा प्रधानमन्त्री र मन्त्री सरह जिम्मेवार रहेको उनको भनाइ थियो।
पार्टीको कार्यशैली र विचारबारे बाहिर चलेका चर्चाको सन्दर्भमा बोल्दै उनले बाहिरी हाउभाउ हेर्दा रास्वपा अनियन्त्रित देखिए पनि पूर्ण रूपमा नियन्त्रित र जनउत्तरदायी रहेको दाबी गरे।
रास्वपा पूर्ण रूपमा ‘विकासवादी पार्टी’ भएको प्रष्ट पार्दै उनले आगामी निर्वाचनमा आफूहरू केवल सुशासन र विकासको एजेन्डा मात्र लिएर जनतामाझ जाने बताए।
प्रधानमन्त्री शाहले भ्रष्टाचार नियन्त्रणका सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा मात्र नभई आवश्यक परे पाँच वर्षसम्म पनि सोधपुछ र छानबिन गर्न सक्ने कानुनी स्वतन्त्रता हुनुपर्ने धारणा राखे।



