काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन हुने प्रणाली विकास भएको बताएका छन्।
चितवनमा सुरु रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा आफ्नो धारणा राख्दै उनले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन हुने र पहुँचवालालाई सहज हुने प्रणाली विकास भएको बताए।
उनले रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताउँदै विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्र स्थापना गर्दै आमूल राजनीतिक सुधारमार्फत नेपाललाई जिताउने लक्ष्यसहित रास्वपा अघि बढिरहेको पनि उल्लेख गरे।
‘राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो, व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो, राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो, हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन, राजनीतिक संस्कार परिवर्तनको अभियान हो। हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ।´ वाग्लेले भने।
उनले रास्वपा भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहेको पनि बताए। यस्तै नागरिक केन्द्रित लोकतन्त्रतर्फ जाने रास्वपाको बटमलाइन रहेको बताउँदै उनले आमूल सुधारको राजनीतिमार्फत कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन रास्वपा अगाडि आएको बताए।
`हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ।’ उनले भने।
उनले नागरिक र राज्यबीचको विश्वासको पुल भत्किन थालेपछि परिवर्तनको चाहना विद्रोहमा परिणत भएको र त्यसैको लोकतान्त्रिक आवाजका रूपमा रास्वपा स्थापित भएको बताए।
उनले विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र, संविधान र समावेशिताको आधार निर्माण गरे पनि लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षाअनुसार विकास हुन नसकेको टिप्पणी पनि गरे।



