काठमाडौँ। पुर्वी नेपाल हुँदै सरदर भन्दा ६ दिन ढिलो गरेर नेपालमा यस वर्षको मनसुन भित्रिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (असार ५ गते) मनसुन प्रणाली कोशी प्रदेशको केही भू–भागमा हुँदै नेपाल प्रवेश गरेको हो। नेपालमा मनसुन प्रवेश हुने सरदर मिति जुन १३ तारिक (जेठ ३० गते) लाई मानिन्छ।
महाशाखाले शुक्रबार जारी गरेको सूचना अनुसार मनसुन हाल कमजोर अवस्थामा रहेको छ भने देशका अन्य भू–भागमा फैलिन अझै केही दिन लाग्ने छ।
अघिल्लो वर्ष सरदर भन्दा १५ दिन अघि नै मनसुन नेपाल भित्रिएको थियो। यस वर्षको मनसुनमा देशभरि सरदर भन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान छ।
मौसमविद्हरूले मनसुनको गतिविधिलाई निरन्तर अनुगमन गरिरहेको जनाउँदै समय–समयमा अद्यावधिक सूचना जारी गरिने बताएका छन्।



