काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेका नौ जिल्लामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार दादुरा देखिएका नौ जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको हो।
जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको उनले जानकारी दिए। अभियान यही हप्तासम्म संचालन हुनेछ।
त्यस्तै सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकिएको छ भने अछाम र दैलेखमा दुई जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्नु नपरेको खोप शाखा प्रमुख डा. गौतमले बताए।
दादुराको उच्च जोखिम रहेका छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकामा खोप अभियान सञ्चालन गरिएको शाखा प्रमुख डा. गौतमले जानकारी दिए।
उनका अनुसार बागलुङमा छ महिनादेखि २० वर्षसम्म उमेर समूह र जाजरकोटमा छ महिनादेखि २४ वर्षसम्म उमेर समूहलाई खोप दिइएको छ। यी दुई जिल्लामा १५ वर्षभन्दा माथिकामा पनि दादुरा देखिएकाले २४ वर्ष उमेर समूहलाई खोप दिइएको डा. गौतमको भनाइ छ।
“दादुरा अत्यन्तै सङ्क्रामक रोग हो, एक जना सङ्क्रमित व्यक्तिले १८ जनासम्मलाई सङ्क्रमण सार्न सक्दछ, त्यसैले सङ्क्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको छ”, खोप शाखा प्रमुख डा. गौतमले भने।



