काठमाडौँ। बाढी, पहिरो र सडक मर्मतका कारण मुलुकका विभिन्न तीन राजमार्गमा यातायातका साधन पूर्णरुपमा बन्द भएका छन्।
नेपाल प्रहरीका अनुसार बिहीबार बिहान साँढे ८ बजेसम्म कोशी र बागमती प्रदेश अन्तर्गतका ती सडकमा यातायात सञ्चालनमा अवरोध देखिएको हो।
कोशी प्रदेश अन्तर्गत इलाम नगरपालिका-९ पुवा खोलामा बाढीका कारण मेची कोरिडोर पूर्ण रूपमा अवरोध भएको छ। हालका लागि मेची राजमार्गलाई वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सकिने जानकारी दिइएको छ।
यसैगरी मध्य पहाडी लोकमार्ग भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक प्रभावित भएर एकतर्फी रुपमा मात्र संचालनमा छ। त्यहाँ वैकल्पिक बाटो समेत उपलब्ध छ। सोही लोकमार्ग अन्तर्गत पाँचथर, याङवरक गाउँपालिका-२ दोभान पनि एकतर्फी मात्र संचालनमा छ।
बागमती प्रदेशमा पनि मुख्य सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ। बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
यस्तै मकवानपुर स्थित कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकोले १ महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
मुग्लिन–नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरोका कारण सडक एकतर्फी मात्र सुचारु रहेको प्रहरीले जनाएको छ।




