मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

औषधिको मूल्य समायोजन गर्दै सरकार, स्वचालित मूल्य कायम गर्ने तयारी

औषधिको मूल्य समायोजन गर्दै सरकार, स्वचालित मूल्य कायम गर्ने तयारी

images
२०८३ आषाढ ३ गते, बुधवार
२०८३ आषाढ ३ गते, बुधवार
  • काठमाडौँ। सरकारले औषधिको सहज आपूर्ति सुनिश्चित गर्न औषधिको मूल्य समायोजन गर्दै स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी गरेको छ।

    images

    बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै स्वास्थ्य तथा खाद्य स्वच्छ्ता मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति सुनिश्चित गर्न  मूल्य समायोजन गर्दै स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी भइरहेको जानकारी दिएकी हुन्। त्यसका लागि एक साता भित्रै औषधी परामर्श परिषद्को बैठक बस्ने समेत उनले जानकारी दिएकी हुन्।

    images

    पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण नेपालमा अहिले क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधिको अभाव छ। अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मुल्यमा भारी वृद्धि भएको र ढुवानीमासमेत असर परेको तथा भारतमा समेत मूल्य वृद्धि भएको भन्दै औषधि आयातकर्ताहरुले सरकारले तोकेको पुरानो मुल्यमा औषधि आयात गरेर दिन नसक्ने बताउँदै आइरहेका छन्। यस्तै उनीहरूले स्वचालित मूल्य प्रणाली लागू गर्न सरकारसँग माग गर्दै आइरहेका छन्।

    त्यतिमात्र होइन संसदमासमेत यो विषय पछिल्लो दुई महिनायता जोडतोडका साथ उठ्दै आएको छ। क्यान्सरका बिरामीले उपचारका लागि अतिआवश्यक मानिएको कार्बोप्लाटिन र सिसप्लाटिन उपलब्ध हुन नसकेको भन्दै सांसदहरूलाई नै फोन गर्न थालेका छन्। बिरामीले औषधि नै नपाउने अवस्था बन्दै गएपछि सरकारले औषधिको मूल्य समायोजन गर्दै स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी गरेको हो।

    स्वास्थ्यमन्त्री मेहताले औषधि ऐन २०७५ को दफा २६ बमोजिम नेपाल सरकारबाट हालसम्म ११७ प्रकारका औषधिहरुको अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको जानकारी दिइन्। जस अन्तर्गत क्यान्सरको उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस प्लाटिन र अक्सिप्लाटिन जस्ता आवश्यक औषधिहरु समेत समावेश रहेको मन्त्री मेहताले बुधबारको संसद बैठकमा जानकारी गराइन।

    `विगत एक दशक भन्दा बढी समयदेखि यी औषधिहरुको मूल्य समायोजन नभएको अवस्था र हाल विश्वब्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण बजारमा देखिएको केही औषधिहरुकोi अभावप्रति मन्त्रालय एकदमै गम्भीर छ। यस समस्याको दीर्घकालीन समाधान गर्दै औषधिको सहज आपूर्ति सुनिश्चित गर्न मूल्य समायोजन स्वचालित प्रणाली निर्माण गर्न एक हप्ता भित्र औषधि परामर्श समितिको बैठबाट अगाडि बढाउने ब्यहोरा अवगत गराउन चाहन्छु।´ मन्त्री मेहताले संसद बैठकलाई सम्बोधन गर्दै भनिन्।

    हाल विश्व बजारमा कच्चा पदार्थको मुल्यवृद्धि, अन्तर्राष्ट्रिय द्वन्द तथा आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण उल्लेखित औषधिको आयात तथा आपूर्तिमा देखिएको अवरोध ब्यवस्थापन गर्न औषधि ब्यवस्था विभागमार्फत आयातकर्ता, उत्पादक तथा अस्पतालबाट दैनिक मौजुदा विवरण संकलन गर्ने ब्यवस्था गरिएको मन्त्री मेहताले जानकारी गराइन।

    उनले बिरामीहरुको आवश्यकता अनुसार औषधि सहज रुपमा प्राप्त गर्नका लागि समन्वयको ब्यवस्थाका लागि सम्पर्क ब्यक्ति तोकिएको जानकारीसमेत बैठकमा गराइन।

    क्यान्सर उपचारको औषधिको नियमित उपलब्धता सुनिश्चित गर्न क्यान्सर रोगीहरुको उपचारमा सहजता ल्याउने उद्देश्यले हाल ११ स्वास्थ्य संस्थामार्फत उक्त औषधि उपलब्ध रहेकोले बिरामीहरुको पुर्जीसहित उक्त ११ स्वास्थ्य संस्थामा सम्पर्क ब्यक्तिसँग समन्वय गरी औषधि प्राप्त गर्ने ब्यवस्था मिलाइएको पनि उनले जानकारी दिइन्।

    नेपाल औषधि आयातकर्ता संघ (मीयान) का अध्यक्ष पवन आचार्यले स्वचालित मूल्य कायम गरिए भारतमा मूल्य बढ्दा नेपालमा बढ्ने र भारतमा घट्दा नेपालमा पनि घट्ने हुँदा आपूर्ति शृङ्खला सहज हुने र अभावको समस्या दीर्घकालीन रुपमा समाधान हुने बताए।

    पछिल्लो समय मीयानको विशेष पहलमा भारतबाट हावाईमार्ग र स्थलमार्ग हुँदै कार्बोप्लाटिन आयात गरेर बिरामीलाई उपलब्ध गराउँदै आइएको आचार्यले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend