भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीको उपचारमा लामोसमय प्रयोगमा आएको `कोबाल्ट´ मेसिनको रेडियोधर्मी पदार्थ विसर्जन गर्न हंगेरी पठाइएको छ।
१३ हजार भन्दा बढी क्यान्सरका बिरामीको उपचारमा सो मेसिनको `कोबाल्ट ६० रेडियो एक्टिभ सोर्स´१३ वर्षदेखि भक्तपुर अस्पतालमा प्रयोगमा रहँदै आइरहेको थियो।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले लामो समयसम्म प्रयोग गरिएको र भक्तपुर क्यान्सर अस्पतालको कोसेढुङ्गाको रुपमा रहेको पुरानो कोबाल्ट मेसिनको रेडियोधर्मी पदार्थ `कोबाल्ट ६० रेडियो एक्टिभ सोर्स´ को विधिपुर्वक विसर्जन प्रक्रियाको लागि हङ्गेरी पठाइएको जानकारी दिए।
डा. चालिसेका अनुसार विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सो रेडियोधर्मीको स्रोत पठाइएको हो।
`विगत १३ वर्षभन्दा बढी समयदेखि प्रयोग हुँदै आएको रेडियोधर्मी कोबाल्ट स्रोतको निष्क्रियीकरण, विघटन र सुरक्षित विसर्जनको लागि स्रोतलाई हंगेरीको आइसोटोप संस्थान (IZOTOP) बुडापेस्टमा सुरक्षित रूपमा विसर्जन हुनेछ।´ अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेले भने।

सो मेसिनमा विकिरणको सोर्स सकिएको थियो। विकिरणको सोर्स सकिएपछि विधिपुर्वक विसर्जन गर्नु पर्ने उनको भनाइ छ।
`स्रोतमा विकिरण सकिएपछि दिने नतिजा उपयुक्त हुँदैन, १३ वर्ष उपयोग गर्यौं, पुरानो भएर उपयोगी नहुने अवस्था भएपछि विधि पुर्याएर विसर्जन गर्नु पर्ने हुन्छ, यहाँ विसर्जन गर्न सकिंदैन, त्यसैले सरकारको सहयोगमा हंगेरी पठाइएको हो।´ डा. चालिसेले जानकारी दिंदै भने।
उनका अनुसार सो मेसिनमार्फत घाँटीको क्यान्सर, पाठेघरको क्यान्सर, आन्द्राको क्यान्सर लगायतका मुख्य क्यान्सरको उपचार र अन्य विभिन्न किसिमका क्यान्सरको उपचारमा प्रयोग हुने गरेको थियो। अस्पतालमा क्यान्सरको उपचारका लागि सो मेसिनको सट्टा अर्को मेसिन प्रयोगमा आइसकेको छ।



