काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्ड लगायतका संस्थामा रिक्त पदाधिकारी लागि आवेदन माग गरेको छ।
मन्त्रालयले नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य ब्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्ड गरि ८ निकायमा रिक्त २२ पदाधिकारीका लागि आवेदन माग गर्दै मंगलबार सूचना जारी गरेको हो।
सम्बन्धित संस्थाका ऐन तथा नियमावलीमा उल्लेख भए बमोजिमको योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशन भएको मितिले १० दिन भित्र (असार १२ गतेभित्र) सिंहदरबारस्थित मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा वा मन्त्रालयको वेव साइटमा भएको लिंकमा आवेदन पेश गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यी निकायहरूमा २०८३ जेठ २९ गते स्वीकृत नयाँ कार्यविधि अनुसार योग्यता प्रणाली (मेरिट सिस्टम) का आधारमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने बताउँदै आएको छ।
यी निकायका लागि प्राप्त हुने आवेदन मध्येबाट अतिरिक्त स्वास्थ्य सचिवको अध्यक्षतामा बन्ने समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा योग्य तीन जनाको नाम सिफारिस गर्नेछ।




