काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्।
शनिबार राति सम्पन्न निर्वाचनमा अर्यालले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै प्रदेश नेतृत्वमा निर्वाचित भएका हुन्।
रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार सम्पन्न निर्वाचनमा अर्यालले ४१६ मत प्राप्त गर्दा लामिछानेले ४१४ मत प्राप्त गरेका छन्।
रास्वपाको बागमती प्रदेश अधिवेशन गत जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो। नेतृत्व चयनसम्बन्धी विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया शनिबार काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न भएको हो।
रास्वपाको विधानमा प्रदेश सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ। रास्वपाको बागमती प्रदेशको नेतृत्वका लागि सुरुमा चार जना आकांक्षी देखिए पनि अन्तिममा दुई जनाका बीचमा मात्र प्रतिस्पर्धा भएको थियो।



