मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

औषधि आयातको व्यवस्थापनमा सरकारसँग सहकार्य गर्ने `मीयान´को निर्णय

औषधि आयातको व्यवस्थापनमा सरकारसँग सहकार्य गर्ने `मीयान´को निर्णय

images
२०८३ जेठ ३० गते, शनिवार
२०८३ जेठ ३० गते, शनिवार
  • चितवन। नेपाल औषधि आयातकर्ता संघ (मीयान) ले औषधि आयातका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेको छ।

    images

    संघले चितवनको सौराहामा शुक्रबार आयोजना गरेको विस्तारित बैठकमार्फत औषधि आयातका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेको हो।

    images

    बैठकले औषधि आयात व्यवस्थापन, आपूर्ति प्रणाली सुदृढीकरण तथा बिरामीलाई गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्ने विषयमा विभिन्न निर्णय गरेको नेपाल औषधि आयातकर्ता संघ (मीयान) का अध्यक्ष पवन आचार्यले जानकारी दिए। 

    आचार्यका अनुसार बैठकमा क्यान्सरसँग सम्बन्धित कार्बोप्लाटिन, सिस्प्लाटिन सहितका औषधि आयातका क्षेत्रमा पछिल्लो समय देखिएका चुनौतीहरूको समीक्षा गर्दै सरकारसँग समन्वय गरी समाधानका उपाय खोजिने विषयमा घनिभुत छलफल भएको छ।

    उनले नेपाली नागरिकले गुणस्तरीय औषधि प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न संघले आफ्नो भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता बैठकमार्फत व्यक्त गरिएको बताए।

    बैठकमा पश्चिम एशियामा जारी द्वन्द्वका कारण प्लाटिनम समूहका औषधिका कच्चा पदार्थको आपूर्ति र ढुवानीमा परेको प्रभावबारे पनि छलफल गरिएको थियो। साथै, क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिनजस्ता औषधिको आपूर्तिमा देखिएको समस्याबारे समीक्षा गर्दै त्यसको समाधानका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

    यस अवसरमा क्यान्सरका बिरामीलाई आवश्यक औषधि उपलब्ध गराउन विशेष पहल गरेका केही आयातकर्ता तथा कम्पनीलाई पनि सम्मान गरिएको छ।

    सो अवसरमा सम्मानित हुनेहरूमा यतिकेम डिस्ट्रिब्युटर्सका पृथ्वीराज वैद्य, डीकेएम फर्मास्युटिकल्सका सुरज टिब्बटेवाल, आयान लाइफकेयरका डा. अबुल हुसेन अन्सारी, ताज नेपालका तारिक राना तथा सिजल फार्माका अञ्जन पुडासैनी छन्। 

    बैठकले अर्को महत्वपूर्ण निर्णय गर्दै स्वास्थ्य तथा औषधि क्षेत्रका विषयमा सक्रिय रूपमा कलम चलाउने दुई जना पत्रकारलाई हरेक वर्ष नगद तथा सम्मानपत्रसहित सम्मान गर्ने घोषणा गरेको छ। 

    यस वर्षदेखि प्रदान गरिने ‘उत्कृष्ट स्वास्थ्य पत्रकार पुरस्कार’ अन्तर्गत प्रत्येक पत्रकारलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ। मीयानले उक्त पुरस्कारले स्वास्थ्य तथा औषधि क्षेत्रको जिम्मेवार र खोजमूलक पत्रकारितालाई प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरेको छ।

    मीयानको विस्तारित बैठक वर्षमा दुई पटक  बस्ने गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend